संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीपछि पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन रणनीतिक अभियान चलाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २४औँ वार्षिकोत्सवका अवसरमा बोर्डमा आयोजित कार्यक्रममा उहाँले बदलिँदो विश्व परिवेशमा पर्यटन प्रवद्र्धनका लागि नयाँ रणनीति आवश्यक भएको उल्लेख गर्नुभयो । “महामारीले विगत तीन वर्ष नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको यौगदान ह्वात्तै घट्यो तर, पछिल्लो पाँच–छ महिनाको विदेशी पर्यटक आगमनको आँकडा हेर्दा यो ‘रिभाइबल फेज’मा छ”, सचिव अधिकारीले भन्नुभयो, “हामीले सन्तोष गर्ने अवस्था छ । करिब सन् २०१९ को अवस्थामा फर्किएजस्तो देखिन्छ । आगामी वर्ष सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य पूरा गर्न समय यत्तिकै अनुकूल हुँदै गयो भने सहज हुनेछ ।” नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजारमा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।