इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिनुभयो । साँझसम्ममा सबै होटल भरिने उहाँको अनुमान रहेको छ । उहाँले भन्नुभयो, “यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।” सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आउनुभएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउनुहुन्छ । होटल सेभेन स्टारमा आज साङ्गीतिक कार्यक्रम रहेको भन्दै उहाँले अर्को होटेल पनि भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।” क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या राम्रो छ ।” विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उहाँको भनाइ छ।