जिल्ला फुटबल सङ्घ खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ राहत सङ्कलन अभियान सुरु गरेको छ । यही पुस ४ गते साँझ बाक्सिला बजारमा भएको आगलागीमा फुटबल सङ्घका जिल्ला उपाध्यक्ष समिर राई र बाक्सिला फुटबल क्लब बाक्सिलाका सचिव पवन श्रेष्ठसमेत पीडित भएपछि जिल्ला फुटबल सङ्घले राहत सङ्कलन अभियान सुरु गरेको हो । बाक्सिला बजारका दीपक गुरुङको घरमा विद्युत् सर्ट हुँदा सुरु भएको आगोले डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, रमेश परियार र अकबर राईको घर जलेर नष्ट भएको थियो । सो आगलागीमा फुटबल सङ्घका उपाध्यक्ष एवं गाउँपालिका प्रमुख राईको रु एक करोड २५ लाख र बाक्सिला फुटबल क्लबका सचिव श्रेष्ठको रु २० लाख ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अभियानअन्तर्गत हालसम्म १४ दाताबाट रु एक लाख ४२ हजार दुई सय राहत सङ्कलन भइसकेको फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । आगलागी पीडितका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा समाजसेवी हटमिलन राईले रु एक लाख एक हजार एक सहयोग गर्नुभएको छ । फुटबल सङ्घका अध्यक्ष राईले दश हजार एक, सुमन पुमाले पाँच हजार, कमल चाम्लिङले पाँच हजार, काजीमान राईले पाँच हजार, प्रकाश राई ‘पिके’ले तीन हजार, विनोद तिरुवाले तीन हजार, हिरन राईले दुई हजार, सनम राई ‘जोजो’ले दुई हजार, रोशेस श्रेष्ठले दुई हजार, अमर श्रेष्ठले एक हजार एक सय, मनोज थापले एक हजार एक सय, गङ्गाबहादुर विश्वकर्माले एक हजार र पर्शुराम विश्वकर्माले एक हजार सहयोग गर्नुभएको छ । सङ्कलित रकम केही समयपछि अग्नी पीडितलाई हस्तान्तरण गर्ने अध्यक्ष राईले बताउनुभयो ।