वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दसाँै पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटाँैडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । मन्त्रालयको प्रतिवेदनअनुसार वागमती प्रदेशमा एक लाख ६३ हजार तीन सय नौ मेट्रिक टन मासु उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा वाग्मती प्रदेशमा एक लाख १३ हजार चार सय ३२ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । साथै प्रदेशमा कूल अण्डा उत्पादन आठ लाख ९९ हजार तीन सय ३५ गोटा रहेको छ । प्रतिवेदनमा उल्लेख गरिएको अनुसार वाग्मती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कूल मासु उत्पादन तथा अण्डा उत्पादनमा क्रमशः २२ र २६ प्रतिशत रहेको छ । मकवानपुर जिल्लामा मात्र वार्षिक रुपमा ६ हजार सात सय ७१ मेट्रिकटन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिकरुपमा २१ लख ३० हजार कुखुरा तथा चार हजार तीन सय हाँस गरी जम्मा २१ लाख ३४ हजार सात सय ३८ वटा कुखुरा र हाँसपालन भइरहको सो मन्त्रालयले जनाएको छ । जिल्लामा ३६ हजार पाँच सय गोटा अण्डा उत्पादन हुने गरेको छ ।