नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन हुनुभएको छ । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । उहाँ यसअघि पनि दलको नेता नै हुनुहुन्थ्यो । उहाँ हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ । हिजो र आज भइको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहनुभएका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो । बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित हुनुभएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुनुहुन्छ । संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।