कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताउनुभयो । आगलागीमा परी १७ जना थाइल्याण्डबासी, एक जना मलेसियाली र एक जना नेपाली गरी २६ जनाको मृत्यु भएको उहाँले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।”