तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारका १० युवाले डुङ्गा पुनःसञ्चालनमा ल्याएका हुन् । पाँचथर र तेह्रथुमको सीमा भई बग्ने तमोर नदीको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमावर्ती क्षेत्रमा गत सातादेखि डुङ्गा सञ्चालनमा ल्याइएको डुङ्गा सञ्चालकमध्येका एक वीरबहादुर माझीले बताउनुभयो । माझी समुदायका युवाले केही समयदेखि काठको डुङ्गा सञ्चालनका लागि प्रयास गरिरहेका थिए । तर उपयुक्त रुख यहाँ नजिकै नभेट्टिँदा उनीहरूको प्रयास सार्थक भएको थिएन । गत वर्षायाममा तमोर नदीमा आएको भेलले बगाएर ल्याएको ठूलो रुख पाँचथरपट्टिकै नदी किनारामा अडिएपछि उनीहरूको प्रयास सार्थक भएको हो । सोही रुखलाई काटेर डुङ्गा बनाई सञ्चालनमा ल्याइएको हो । काठको डुङ्गा सञ्चालनमा आएपछि यहाँ जलयात्रा गर्न जानेको सङ्ख्या बढेको छ । चिसो मौसममा पनि न्यानो रहने यस क्षेत्रमा अहिले वनभोज खान जानेको लर्को नै लाग्ने गरेको छ । यही मौकामा जलयात्रा गर्न पाइने भएपछि यहाँ पुग्ने धेरैले यो मौकाको फाइदा लिने गरेका छन् ।