प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ । मेलाको ३५ लाखसम्म आन्तरिक एवं बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । शालिनदी मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ । पौराणिक मान्यतामा आधारित यो व्रत एवं मेला राष्ट्रिय महत्व र गौरवको विषय बनेको छ । यो मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिने भएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको छ । मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनाका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिने समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।