पद तथा गोपनीयताको सपथ लिँदै गर्दा आज सुदूरपश्चिम प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी हर्सित हुनुहुन्थ्यो । सङ्घीय संरचनाअनुसार दोस्रो कार्यकालका लागि हालै भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर–२ बाट समानुपातिकतर्फ निर्वाचित उहाँ सपथ ग्रहणसँगै प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुग्नु भएको हो । त्रिपन्न सदस्यीय प्रदेशसभामा ३२ वर्षीय उहाँ सबैभन्दा कान्छा हुनुहुन्छ । डगौरा थारु पहिरनको आकर्षक पहिरन र चम्किलो मुद्रामा सपथ ग्रहण गर्न आइपुग्नु भएकी गीतासँग अन्य कार्यकर्ता, आफन्त र शुभेच्छुकलाई प्रदेशसभा सचिवालय परिसरमा सेल्फी र सामूहिक तस्बीर लिन भ्याइनभ्याइ भइरहेको देखिन्थ्यो । “थारु समुदायको छोरीलाई सांसदमा पु¥याएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिन्छु,” नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित उहाँले रासससँग भन्नुभयो, “प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुग्दा चुनौतीसँगसँगै अवसर पनि छ, आफूले थारु, दलित र महिलाको हकहितका लागि काम गर्नेछु ।” नवनिर्वाचित प्रदेशसभाका सदस्यलाई ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेशसभा भवन धनगढीमा आज सामूहिक रुपमा पद तथा गोपनीयतको सपथ ग्रहण गराउनुभयो । यस अघि ज्येष्ठ सदस्य रावललाई प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गराउनुभएको थियो । रावल कांग्रेसबाट प्रत्यक्षतर्फ अछामको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।