टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीतिर ध्यान दिएँ र सिसा खोल्दै सोधेँ–के भयो ? उनले सिधै गाडीको कागजपत्र मागिन् । मैले फेरि सोधेँ– किन के भयो र ? उनले ‘गाडीको बम्पट’ मात्र भनिन् । हतारमा एउटा कागज उनको हातमा थमाइदिएँ । मलाइ लाग्यो–कुनै गाडीले पार्किङ गरेको ठाउँमा मेरो गाडीलाई ठक्कर दिएर बम्पट फुटाइदिएछ क्यारे । ट्राफिक प्रहरीलाई मैले कसैलाई ठक्कर दिएर आएँ भन्ने परे छ कि ? कुरा अर्कै रहेछ । गाडीको पछाडि सुरक्षाका लागि सेफ्टी गार्ड राखेको थिएँ । त्यो राख्नु प्रहरीका लागि आपत्तिजनक भएछ । एक महिनादेखि उनीहरु ‘सेफ्टी मेजर’ अपनाउने गाडीलाई खोज्दै दुःख दिँदै बसेका रहेछन् । म यसबारे विल्कुल जानकार थिइन् । मैले के यसले गाडी नम्बर छोप्यो भनेर सोधेँ । त्यो पनि होइन रहेछ । ट्राफिक लाइटमा हरियो बत्ती बलिसकेको थियो । पछाडिका गाडीहरु अड्किरहेका थिए । उनले अर्को ट्राफिक युवतीलाई मेरो गाडीमा हतारहतार चढ्न भनिन् र ट्राफिक कार्यालय जानुपर्ने उर्दी सुनाइन् । अगाडि बढ्दै गर्दा मैले गाडीमा बसेकी युवतीलाई ट्राफिक कार्यालय कहाँ छ भनेर सोधेँ । पुरानो ब्लुबर्डको अगाडि रहेछ । त्यहाँ जाने ट्राफिकसम्मत बाटो थिएन । त्रिपुरेश्वरबाट सिधै अगाडि थापाथली, प्रसूतिगृह वा कोपुण्डोल जानुबाहेकको विकल्प ट्राफिकले दिएको छैन । मैले उनै युवतीलाई सोधेँ, उनीसँग पनि जवाफ थिएन । उनले चोक नपुग्दै मोड्न पाइने ठाउँ हो वा होइन भन्ने जवाफ दिन सकिनन् । थापाथली चोक नजिकबाट ‘यु टर्न’ गरेर उनको कार्यालयमा गएँ ।