प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तह स्तरीय समन्वय समिति गठन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा सो अभियान सञ्चालन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले बताउनुभयो । उहाँका अनुसार स्थानीय पालिकामध्ये मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकामा कार्यक्रम सञ्चालनका लागि नगरप्रमुखको अध्यक्षतामा समिति निर्माण भइसकेको हो । मन्त्रालयले लागुऔषध प्रयोगकर्ता र कारोबार बढी हुने स्थानको पहिचान गरी धमाधम समिति निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । नगरस्तरीय समितिमा उपप्रमुख सदस्य, लागुऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने संस्था, पत्रकार, नेपाल स्काउटबाट एक–एक जना सदस्य रहने र पालिकाको शिक्षा शाखा प्रमुख सदस्यसचिव रहने अभियानको कार्यविधि २०७९ मा उल्लेख छ । नगरस्तरमा बनाइएका समितिले विद्यालयमा पढ्दै गरेका किशोरावस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागुऔषध तथा विपद् व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत् विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्न समन्वय गर्ने उहाँको भनाइ छ ।
