म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा तरकारी खेती सञ्चालन गरिएको छ । विगत वर्षमा सोही क्षेत्रमा तरकारी खेती नहुँदा किनेर उपयोग गर्नुपरेका कारण लाखौँ धनराशि बाहिर जाने गर्दथ्यो । तर केही वर्षयता स्थानीयस्तरमा किसानले उत्पादन गरेको तरकारीले स्थानीय मागलाई परिपूर्ति गर्नुका साथै बढी भएको तरकारी बिक्री वितरण गरी आर्थिक आयआर्जन गर्न पाएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । म्याग्दीमा हिउँदे तरकारी खेतीका लागि परिचित पश्चिमी र उत्तरी म्याग्दीका विभिन्न भूभागमा किसानले काउली, ब्रोकाउली, आलु, सिमी, गोलभेँडा र खुर्सानी तरकारी खेती सञ्चालन गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार म्याग्दीका विभिन्न क्षेत्र, क्षेत्रका विभिन्न स्थानमा यसवर्ष गरिएको काउली, बन्दाकाउली, गोलभेँडा र खुर्सानीलगायत विभिन्न खाले तरकारी खेतीबाट करिब रु चार करोड आम्दानी हुने अनुमान गरिएको छ ।
