शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि सारेको हो । कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा अरुण–४ र पाइनियरलगायत उन्नत जातका मकैको बीउ उपलब्ध गराइने नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो । “मकै खेती गर्ने किसानको सङ्ख्या प्रतिवर्ष घट्दै गएको छ”, उहाँले भन्नुभयो, “मकै खेतीप्रति किसानको मोह बढाउन अनुदानका कार्यक्रम ल्याएका हौँ ।” किसानले माग गरेका मकैका उन्नत जातहरुको बीउ ल्याएर वितरण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । “पाइनियर र अरुण–४ जातका मकै पूर्वतर्फका कैलाली, बर्दिया र बाँकैमा फस्टाएको पाएका छौँ”, शाखाप्रमुख बुढाऐरले भन्नुभयो, “किसानले पनि तीनै जातको माग गरेकाले उपलब्ध गराउँदैछौँ ।” हाल नगरपालिका क्षेत्रमा वसन्ते मकैको खेती ५० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । त्यसलाई बढाएर दोब्बर पार्ने नगरपालिकाको योजना छ । बजारमा उन्नत जातका वसन्ते मकैको बीउको मूल्य उच्च भएकाले सबै किसानले खरिद गर्न नसक्ने भएकाले आधा मूल्य नगरपालिकाले तिर्ने र आधा मूल्य किसानले तिर्ने गरी कार्यक्रम बनाइएको छ ।
