कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि र गैरकृषि जग्गा छुट्याएको छ । नगरपालिकाले आज स्थानीय भू–उपयोग परिषद्बाट भू–उपयोग नक्सा स्वीकृत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले जग्गा वर्गीकरणको नक्सा स्थानीय भू–परिषद्बाट स्वीकृत भइसकेकाले १० दिनभित्र कार्यान्वयनमा आउने बताउनुभयो । “भू–उपयोग नियमावलीमा उल्लिखित विभिन्न क्षेत्रमा जमिन विभाजन गरिएको छ”, उहाँले भन्नुभयो, “नापी विभागमा पठाएर कित्ता भिडान गरेर राजपत्रमा प्रकाशन गर्छांै ।” उहाँले स्थानीय राजपत्रमा प्रकाशनपछि सोहीअनुसार कित्ताकाट हुने बताउनुभयो । नगरपालिकाले नापी विभाग काठमाडौँ र नापी कार्यालय कञ्चनपुरको प्राविधिक सहयोगमा जग्गा वर्गीकरण गरेको हो । स्वीकृत भू–उपयोग नक्साबमोजिम कित्तागत विवरण तयार गरी पुनः स्थानीय भू–उपयोग परिषद्बाट स्वीकृत गरेर भू–उपयोग योजना लागू भएको सूचना प्रकाशन गर्ने र त्यसपछि कित्ताकाट खोल्ने तयारीमा नगरपालिका छ । गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । सोहीअनुसार कञ्चनपुरका अन्य पालिकाले पनि जग्गा वर्गीकरणको काम गरिरहेका छन् । यहाँको पुनर्वास नगरपालिकामा भने जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले स्थानीय भू–उपयोग परिषद्बाट मापदण्ड स्वीकृत हुन बाँकी रहेको बताउनुभयो ।