“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै हुनुहुन्थ्यो । उहाँले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाउनुभयो । निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो । केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । भरतपुर महानगरपालिका–१० स्थित विद्यालयको हीरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार–सुसार’ कार्यक्रम आयोजना गरेको हो । आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक प्रियङ्का शाहले भन्नुभयो, “सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आश छ । घरमा पनि मलाई सहयोग गर्छन् तर आज स्कुलले सिकाएजस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।” शाहले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाउनुभयो । शाहकी छोरी ४ कक्षामा अध्यनरत छिन् । शारीरिकरूपमा दृष्टिविहीन अभिभावक डोलकुमारी ढकालले व्यवहारिक शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका छोरा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । ढकालले विद्यालयबाटै पारिवारिक शिक्षा दिन सके खुसी परिवार निर्माण गर्न सकिने विचार राख्नुभयो ।