भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ । हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिने चेतनामूलक सन्देश दिइरहेको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारको कार्यक्रमअनुसार ‘सिम्बोलिक’ रूपमा केही विद्यालयका विद्यार्थी र गर्भवती महिलालाई वितरण गरिएको जानकारी दिनुभयो । बुधबार पनौती नगरपालिका–५ चौकोटस्थित स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवती, सदरमुकाम धुलिखेलस्थित बाल मन्दिर विद्यालय र धनेश्वर प्राथमिक विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिएको हो । अण्डासँगै बालबालिकालाई खाजासमेत खुवाइएको थियो । यस्तै शनिबार जिल्लाको मुख्य सहर बनेपामा श्रमिकलाई अण्डा वितरण गर्ने कार्यक्रम राखिएको छ । “कार्यक्रमसँगै प्रोटिनको उत्कृष्ट स्रोतका रूपमा रहेको अण्डा नियमित खान कार्यक्रम एवं विभिन्न माध्यमबाट अनुरोध गर्दै आएको छौँ”, हुमागाईँले भन्नुभयो । जिल्लाको पूर्वी प्रवेशद्धार रोशी गाउँपालिकाको मङ्गलटारमा सचेतनामूलक कार्यक्रमसहित आइतबार दिवस समापन गर्ने कार्यक्रम तय गरिएको छ । छिमेकी देश भारतबाट भित्रने अवैध कुखुरा तथा चल्ला नियन्त्रणका गर्ने थप अभियानअन्तर्गत उक्त स्थानमा हालै जाँचचौकी स्थापना गरिएको छ ।