रुपन्देहीको देवदहस्थित ऐतिहासिक पाकरी वृक्षको उचित संरक्षण र संवर्द्धन हुन जरुरी रहेकामा जोड दिइएको छ । देवदह नगरपालिका–८ मा रहेको यो वृक्ष एसियाकै सबैभन्दा ठूलो र पुरानो रूखमध्ये एक भए पनि सरकारले उचित व्यस्थापनमा ध्यान दिन नसकेको गुनासो स्थानीयवासीको छ । रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स लुम्बिनीको सहकार्यमा आज पाकरी वृक्ष भएकै स्थलमा आयोजना गरिएको ‘पर्यटन प्रवर्द्धनमा औद्योगिक प्रदर्शनीको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो गुनासो गरिएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले यो ऐतिहासिक स्थलको विकासका लागि सबैले पहलकदमी लिनुपर्ने बताउनुभयो । “यो क्षेत्र विकास कोषअन्तर्गत पर्दैन तर सबै मिलेर प्रयास गर्न सकिन्छ । सही योजना निर्माण गर्न सके बजेट जुट्न पनि समय लाग्दैन”, उहाँले भन्नुभयो । यो क्षेत्रमा आउने पर्यटकका लागि पाकरी पार्क तथा अन्य संरचना निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । वडा नं ८ का निवर्तमान वडाध्यक्ष डण्डपाणी भट्टराईले धेरै विशेषता बोकेको पाकरी वृक्षमा गिद्ध नबस्ने र हात्ती नजिक नआउने र कुनै चराचुङ्गीले गुँड नलगाउने गरेको पाइएको बताउनुभयो । उहाँले यो क्षेत्रमा थप जग्गा अधिग्रहण गरेर उचित संरक्षणको पहल थाल्नुपर्ने बताउनुभयो ।