नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क्षेत्रमा चहलपहल र गतिविधि बढेको बताउनुभयो । “ नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटनमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकको चाप छ । ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।” होटलको बुकिङ पनि उत्साहवद्र्धक रहेको उपाध्यक्ष शाहको भनाइ छ । सन् २०२२ मा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ । चिनियाँ पर्यटक आउने वातावरण बनेको खण्डमा विदेशी पर्यटक बढ्ने उहाँको विश्वास छ । सरकारी तथ्याङ्कमा मुलुकभर एक हजार एक सय होटल छन् । हानको विवरणमा सबैखाले होटल गरी चार हजार छन् ।