तिला गाउँपालिका–२ स्थित लिही र लर्मी गाउँमा लिफ्ट योजनाबाट तिला नदीको पानी गाउँमै पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । वर्षौंदेखि आकासे पानीको भरमा रहेका उक्त गाउँका बासिन्दालाई अनुकूलन कोषको आर्थिक सहयोगमा वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमले स्थानीय साझेदार संस्था पेस नेपालमार्फत २०१९ देखि काम गरिँदै थियो । चारवर्षे क्याफ्स कर्णाली परियोजनाले लिफ्ट सिँचाइ योजनाबाट गाउँमा पानी पुगेको लिही लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले जानकारी दिनुभयो । “सुरुमा लिफ्ट योजना सौर्य ऊर्जाबाट सञ्चालन गर्ने योजना थियो, तर परियोजनाले उक्त आयोजनाको दिगोपनका लागि निकट भविष्यमा जोडिँदै गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनको सुनिश्चितता पर्खिरहेका थियौँ”, उहाँले भन्नुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएपछि मात्र आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो । अन्ततः पहाडको टुप्पोमा नदीको पानी लिफ्टमार्फत पु¥याएर समुदायको सपना साकार भएको समितिका अध्यक्ष रावतले जानकारी दिनुभयो । “नदीको पानी गाउँमा पुग्ला भन्ने विश्वास गरेका थिएनन्, परियोजनाबाट पानी पुगेपछि यसमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालादेखि स्थानीय सरकारलाई धन्यवाद दिँदै स्थानीय नन्ददेवी बोहराले भन्नुभयो, “लिही र लर्मी गाउँका बासिन्दाको सपना साकार भयो, अब हिउँदे याममा तरकारी लगाउन, स्याउ र ओखरसहित अन्य अन्नबालीको खेतीमा सिँचाइ गर्न सहज हुने छ ।”