गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ मा देशभरको १४ लाख ७९ हजार तीन सय ७८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । जसबाट ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा गतवर्ष धानखेती भएको जमिनको क्षेत्रफल बढी देखिन्छ । तर उत्पादन कम छ । त्यसअघिका तीन आर्थिक वर्षमा भने अहिलेको भन्दाबढी धान उत्पादन भएको थियो । मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार, २०७६/७७ मा ५५ लाख ५० हजार र २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।