“शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र पीडा सम्झँदा यो जागिर कसरी टिकाउँ भन्ने परिरहेको छ ।” धादिङको पिपल भञ्ज्याङ माविमा निमावि दरबन्दीमा कार्यरत दृष्टिबिहीन शिक्षक अनिता भट्टराईमा शिक्षक पदमा स्थायी हुँदाको हाँसो कहिल्यै खुशीमा परिणत हुन सकेन । पदस्थापन भएको विद्यालय र आसपासको क्षेत्रमा अपाङ्गताका दृष्टिले पहुँचयुक्त पूर्वाधार नहुँदा अनिताले धेरै हण्डर खेपिरहनुपरेको छ । सेतो छडीका भरमा एक पटक विद्यालय जाने क्रममा बाटोमै लडेर झण्डै खोलामा बग्न पुग्नु भएन । उहाँको खुट्टा घाइतेसमेत हुन पुग्यो । एउटा शिक्षकलाई अभिभावक र विद्यार्थीका माझ बाटो हिँड्न पनि नसक्ने शिक्षकले कस्तो पढाउँला भन्ने भान पर्दा अनितालाई झन् मानसिक पीडा भयो । पाल्पाको मण्डवी माविका दृष्टिबिहीन शिक्षक सिर्जना ढकालको विद्यालय बुटलव र पाल्पा सडक खण्डबीचको अप्ठ्यारो भूभागमा पर्छ । उहाँलाई विद्यालयमा जान, त्यहाँ डेरा पाउन निकै कठिन छ । विद्यालयको भौतिक पूर्वाधार अनुकूल नहुँदा शौचालय वा पानी खाने धारोसमेतमा एक्लै जान सक्ने अवस्था छैन । सिर्जना भन्नुहुन्छ, “अब हाम्रो सङ्कट भनेको ज्यान बचाउने कि जागिर बचाउने भन्ने भएको छ । यस सवालमा नेपाल सरकार र सम्बन्धित पक्षले विचार गरेर हामीलाई सहरी क्षेत्रको अनुकूल विद्यालयमा पढाउन पाउने वातारण मिलाइ दिनुपर्छ ।’