भनिन्छ, “जे भाग्यले गर्दैन् त्यो व्यापारले गर्छ”, हो सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामको जीवनमा यो भनाइ सत्य सावित भएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उहाँको अब भन्ने त्यो दुःखको दिन गएको छ । पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उहाँ अहिले किराना व्यापार गरेर मनग्य आम्दानी लिन थाल्नुभएको छ । गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी रामको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै हराउन थालेको राम बताउनुहुन्छ । “केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर दुई वर्षअघि न्युन पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ, “व्यापार गर्ने इच्छा भए पनि पुँजी आभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन, तर २०७८ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चान गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित माँ भगवती बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उहाँको कथन छ । यस्तै सप्तरीको शम्भुनाथ–९ बसलबलपुरकी सुखरीदेवी रामलाई पनि अचेल तरकारी खरिद बिक्री गर्न भ्याननभ्याइ हुन्छ । समान्य लेखपढ गर्नसमेत नजानेकी सुखरीदेवीलाई बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको सहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।