बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कारजस्ता अपराध र विभेद अन्त्य गर्न सरोकारवालाले आग्रह गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको १८ औँ साधारणसभाका अवसरमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसाविरुद्ध कानूनी संचेतना जगाइ र दोषीमाथि कारवाही गर्नुपर्ने बताउनुभयो । अधिवक्ता इन्दु तुलाधरले बालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पुर्याउन नसकेका विषयलाई जोड दिँदै तिनै तहका सरकार र निकायमा लैङ्गिकमैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक सङ्घसंस्था सञ्जालको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेल, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले सरकारले बालिका तथा किशोरीमा लगानी बढाउनुपर्ने, उनीहरुको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैङ्गिकमैत्री अभियानलाई अघि बढाउनुपर्ने बताउनुभयो ।