देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो ।