फेरियो दुर्गम बोबाङको मुहार
पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली पनि बदलिएको छ । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गएका छन् । स्थानीय पनि शिक्षित बन्दै गएका छन् । यहाँका स्थानीयहरु घुम्ती बसाइँ गर्ने हुँदा बोबाङगाउँमा विकासले गति लिन सकेको थिएन । हिउँदमा बोबाङ र वर्षातको समयमा ढोरपाटन बस्ने हुँदा यहाँ सडक सञ्जाल पनि ढिला पुगेको थियो । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पर्ने यो गाउँ हेर्दा बजारभन्दा कम छैन । बहुप्रतिक्षित ढोरपाटन सिकार आरक्षको ढोकाका रुपमा रहेको बोबाङ गाउँ राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडकले बीच भागबाटै चिररे गएपछि यस ठाउँमा विकासले गति लिन थालेको छ ।