जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आउनुभएको छ । विसं २०५३ देखि सुन्तला खेती थाल्नुभएका उहाँले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गर्नुभएका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो । विसं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेका उहाँले आठ वर्षसम्म शिक्षक पेसामा लाग्नुभएको थियो । नेपाली कांग्रेसको नेतासमेत रहनुभएका घिमिरे विसं २०४९ मा तत्कालीन गाविस अध्यक्षसमेत बन्नुभएको थियो । राजनीति र समाज सेवामा सक्रिय रहनुभएका उहाँले विसं २०५३ देखि व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो । “नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने कुनै चिन्ता छैन”, उहाँले भन्नुभयो, “परिश्रम गर्न सके आत्मनिर्भर हुन कुनै समस्या छैन ।” हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । विदेशमा गर्ने दुःख नेपालमा गर्न सकिएमा केही गर्न सकिन्छ । ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो । सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उहाँले बताउनुभयो । “सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महसुस हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउँदै उहाँले भन्नुभयो, “सुन्तला खेती गर्न गाह्रो पनि छैन, वर्षमा छ महिना जति हेरचाह गर्ने हो भने वर्ष दिनमा मनग्य आम्दानी लिन सकिन्छ ।”
