फिलिपिन्स र चीनले दक्षिण चीन सागरमा ‘गलत अनुमान र गलत सञ्चार’ हुन नदिन आ–आफ्ना परराष्ट्र मन्त्रालयबीच सिधा संवाद स्थापित गर्ने मनिलाले बिहीबार जनाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसको बेइजिङ भ्रमणका क्रममा चिनियाँ समकक्षी सी चिनफिङसँगको भेटवार्तामा उक्त सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले पत्रकारसँगको कुराकानीमा बताउनुभयो । मार्कोसले चीनलाई फिलिपिन्सको समुद्री अधिकारलाई कुण्ठित गर्न नदिने बताउँदै आउनु भएको छ् । उहाँका पूर्ववर्ती रोड्रिगो डुटेर्तेले शक्ति राष्ट्र चीनलाई चिढाउने गरी चीनको आलोचना गर्न हिचकिचाउनुभएको थियो । चीनले स्प्राट्ली टापु वरपरका धेरै खाली भू–भाग पुनः प्राप्त गर्न थालेको समाचार सार्वजनिक भएपछि फिलिपिन्सले गत साता आफ्नो सेनालाई विवादित जलक्षेत्रमा आफ्नो उपस्थिति बढाउन आदेश दिएको थियो । “पश्चिम फिलिपिन्स सागरमा गलत अनुमान र गलत सञ्चारबाट बच्न, दुवै पक्ष एक सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन्,” फिलिपिन्सका एशिया तथा प्रशान्त मामिलाका सहायक मन्त्री निल इम्पेरियलले भन्नुभयो । दुवै देशका विदेश मन्त्रालयबीच विभिन्न तहमा प्रत्यक्ष सम्वाद भइरहेको फिलिपिन्सले जनाएको छ । मनिलाले फिलिपिन्सको नजिकै पश्चिममा रहेको समुद्रलाई ‘वेस्ट फिलिपिन्स सी’ भन्ने गरेको छ । इम्पेरियलका अनुसार सम्झौताले विवाद उत्पन्न भएपछि दुई देशबीच सम्पर्कका लागि ‘प्रक्रिया’लाई औपचारिकता दिनेछ । उहाँले भन्नुभयो, “प्रतिक्षाको खेल हुनुभन्दा दुई देशबीच सम्पर्कका लागि ‘प्रक्रिया’लाई औपचारिकता दिनु उपयुक्त र उत्कृष्ट विचार हो ।” बेइजिङले लगभग सम्पूर्ण दक्षिण चीन सागरमा सार्वभौमिकताको दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई बेवास्ता गरेको छ । फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले यसको केही भागमा आफ्नो दाबी गर्दै आएका छन् । “सी र अन्य शीर्ष नेतासँगको भेटमा मार्कोसले ‘हाम्रो देशको सार्वभौमिकतालाई कायम राख्नुहुनेछ,” इम्पेरियलले भन्नुभयो । “राष्ट्रपति मार्कोसले पश्चिम फिलिपिन्स सागरमा शान्तिपूर्ण र स्थिर स्थिति (शान्ति) चाहनुहुन्छ,” उहाँले सम्वादबारे भन्नुभयो । चीनले दक्षिण चीन सागरमा हजारौँ हेक्टर जमिन चिरेर स्प्राट्ली द्वीपसमूहमा कृत्रिम टापुका लागि नयाँ भूमि सिर्जना गरेर आफ्नो अडानलाई बलियो बनाएको छ । सैन्यीकृत टापुहरूमा रनवे, बन्दरगाह र राडार प्रणालीहरू छन् । ब्लुमबर्गले गत हप्ता अमेरिकी अधिकारीहरूको स्याटेलाइट तस्वीरहरू उद्धृत गरेको एक रिपोर्टमा स्प्राटलिस, एल्डाड रीफ, ह्वीट्सन रीफ, ल्यान्कियाम के र स्यान्डी केमा नयाँ संरचनाहरू देखा परेका छन् । मनिलाले उक्त रिपोर्टप्रति गम्भीर चासो व्यक्त गरेको र त्यसको भोलिपल्ट आफ्नो सेनालाई पानीमा आफ्नो उपस्थिति बलियो बनाउन आदेश दिएको जनाएको छ । चीनको विदेश मन्त्रालयले उक्त प्रतिवेदनलाई ‘पूर्णतया आधारहीन’ भनेको छ । मार्कोसको जनवरी ३–५ को भ्रमणका क्रममा १४ वटा द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। इम्पेरियलले मार्कोस र पूर्वराष्ट्रपति ग्लोरिया अरोयो, वरिष्ठ मन्त्री र व्यापारिक नेताहरूसहित उहाँको प्रतिनिधिमण्डलले सङ्क्रमणको जोखिम कम गर्न सामुद्री सीमा दावीको ‘भ्रमबारे’ सम्वाद गर्ने बताउनुभयो ।