ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानाले आगामी दिनमा लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापन कार्यमा थप सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २७औँ वार्षिकोत्सव समारोहमा प्रमुख महर्जनले यस चिडियाखाना महानगरको गहना भएकाले लोपोन्मुख जनावरको संरक्षण गर्दै समग्र पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको हो । प्रमुख महर्जनले भन्नुभयो, “सदर चिडियाखानालाई अन्यत्र सार्ने काम ठीक लागेको छैन, यसलाई यही मुख्य चिडियाघरको घरका रूपमा थप विकास गर्नुपर्छ, त्यसका लागि महानगरले जे गर्नुपर्छ तयार छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले चिडियाखाना व्यवस्थापन र सञ्चालनको काम एउटा अस्पताल व्यवस्थापन गर्नुभन्दा बढी जोखिम हुने भन्दै हालको चिडियाखाना व्यवस्थापन राम्रो रहेकाले कर्मचारीलाई धन्यवाद दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले यस चिडियाखानालाई थप अध्ययन अनुसन्धान र मनोरञ्जनस्थलका रूपमा विकास गर्नका लागि हरपल लागि रहने बताउनुभयो । हाल चिडियाखानामा ‘फ्रेन्ड्स अफ जू’ कार्यक्रमअन्तर्गत करिब पाँच सय विद्यालयका एक लाख विद्यार्थी सदस्य रहेका छन् । ती सदस्य विद्यार्थीले शारीरिक र मानसिक विकासका साथै चेतनामूलक संरक्षण शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।