शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका भावना चौधरी नयाँ पिँढीका युवतीलाई थारु समुदायको परम्परागत पहिरन लेहङ्गा–चोली बनाउने सीप सिकाउने कार्यमा लाग्नुभएको छ । बुढापाकाबाट सीप सिकेर चौधरीले नयाँ पुस्ताका युवतीलाई लेहङ्गा– चोली सिउने, बुट्टा भर्ने सीप सिकाउने कार्यमा लाग्नुभएको हो । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र मुक्तकमैंया महिला विकासमञ्च कैलालीको सहयोगमा २३ जना युवती ३५ दिने लेहङ्गा चोली बनाउने तालिममा संलग्न भएका छन् । केन्द्रले प्रशिक्षक र मञ्चले लेहंगा चोली बनाउन आवश्यक पर्ने आँैजार, सिलाइ मेसिन र कपडाको व्यवस्था गरेको छ । लेहङ्गा– चोलीको बजार माग उच्च भएकाले बेरोजगार युवतीलाई स्वरोजगार बनाउने र पूर्खौँदेखि चलनचल्तीमा आएको पहिरन जोगाउन मद्दत पुग्ने भएकाले युवतीलाई तालिम दिन थालिएको भावनाले बताउनुभयो । “धेरैले बुढापाकाबाट सीप सिकेर लेहङ्गा– चोली बनाउने कार्य गर्दै आएका छन्” स्थानीय तालिमका आयोजक भागिराम चौधरीले भन्नुभयो,“बजारमा सहजै बिक्री हुने हिसाबले परिस्कृत गरेर पहिरन बनाउनका लागि सीप सिकाउने कार्यमा लागेका छौँ ।” स्थानीय बजारदेखि महेन्द्रनगर, धनगढी, काठमाडौँंसम्म लेहङ्गा– चोलीको माग रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिला आजभोलि जस्तो कपडा सिउने मेसिनको प्रचलन थिएनन । त्यसैले सबै कपडा हातैले सियो धागोको मद्दले सिउने गरिन्थ्यो । एकै जोडी लेहङ्गा चोली बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो ।