बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ । सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्ने गरी निर्माणकार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत छ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि योजना अघि बढाएको हो । विभागसँग बिओकेआई–हिमालयन जेभीलेसँग भ्याटसहित रु आठ करोड ३० लाखमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो । पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणकार्यलाई तीव्रता दिएको छ । योजनाको अनुगमन र सुपरीवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इञ्जीनियर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमितरूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।