त्रियानब्बे वर्षीय वृद्धदेखि २० वर्षका युवासम्म अर्थात् बाजेदेखि नातिसम्म । सबैले दौरासुरुवाल लगाएका छन् । हातमा तरबार र ढाल छ । गोलो घेरामा रहेका सबै पुरुष बाजाको तालमा खुट्टा चालिरहेका छन् । झट्ट हेर्दा युद्धकलाको झल्को दिने भुवा नाचको दृश्य कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित हल्दुखालमा देखिएको हो । खासगरी सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरामा महत्वका साथ मनाइने यो पर्व पछिल्लो केही वर्षयता त्यहाँबाट बसाइँसरी आएका पनि कञ्चनपुरमा मनाउन थालेका छन् । पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवा पर्व खेल्ने प्रचलन रहेको छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जीतको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंबदन्ती रहेको ९३ वर्षीय डम्बर पाण्डेय बताउँनुहुन्छ । “असत्यमाथि सत्यको विजय भएको उत्सवमा यो पर्व मनाउन गरिन्छ ।” उहाँले भन्नुभयो,“यसमा भुवा मात्रै होइन भारी खेल, देउडा खेल राति अबेरसम्म खेल्ने र रमाइलो गरिन्छ ।” नेपाल एकीकरणका क्रममा बाइसे–चौबिसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुसे औँसीको राति भुवाखडोमा आगो बालिन्छ । आगो तापेर नुहाइधुवाई सरसफाइ गरेर घरमा मिठो–मसिनो खाना बनाइएको हुन्छ ।