तराई–मधेशमा दुई÷तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित भएका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको राजविराजस्थित केअ मावि कक्षा ७ मा अध्यनरत प्रियंका साहले गुनासो गर्नुभयो । बाक्लो कुहिरो लागेका कारणले पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गका सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको चालक बताउँछन् । दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा मानिस बिरामी पर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले चिसोबाट बालबालिका र वृद्धवृद्धामा बढी असर परेको बताउनुभयो ।