ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताउनुभयो । “अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छाँै”, उहाँले भन्नुभयो, “त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको छ ।” मङ्गलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो । ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताउनुभयो । “गृहमन्त्रालयले सूचना पनि प्रकाशित गरेको थियो, त्यसपछि डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखहरुसँगको छलफलपछि स्वाथ्य सतर्कता मापदण्ड पालना बढाउने निर्णय गरेका थियौँ”, उहाँले भन्नुभयो ।