विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीनतीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो । यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । “सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा भएको कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्ररूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएका थियौँ”, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।”