काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहनुभएको छ । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उहाँले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गर्नुभएको हो । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निन्तर अगाडि बढाउन सहयोग पुगेको उहाँले बताउनुभयो । “पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रुपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदोरहेछ ।” यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उहाँले बताउनुभयो । अर्का विद्यार्थी कक्षा १० मा अध्ययनरत पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन सक्ने हुनको लागि आवश्यक रहेकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन कार्यमा संलग्न भएर काम आएको बताउनुभयो । उहाँहरुसँगै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रापालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रापालनको काम गरिरहेको छ ।
