सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा जिल्लाको स्याङ्जा बजारबाट २१ किलोमिटर र वालिङबाट पाँच किलोमिटरको दूरीको बीचमा पर्दछ प्रसिद्ध तीर्थस्थल छायाँक्षेत्र पौराणिक महत्वको प्राचीन एवं ऐतिहासिकस्थल भएर पनि अपेक्षित प्रवद्र्धनको अभावमा अझै पनि यो क्षेत्र छायाँमा नै परेको छ । पछिल्ला समयमा भने स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारले यस क्षेत्रको विकासमा चासो दिन थालेका कारण आगामी दिनमा यसको गरिमा र महत्व बढ्दै धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास जगाएको छ । विशेषतः स्याङ्जा र आसपासका दर्शनार्थी मात्रै पुग्ने गरेको यस तीर्थस्थलमा पछिल्ला समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थीहरू पुग्ने गरेका छन् । विभिन्न सङ्घसंस्थाबाट हुने गरेका अवलोकन भ्रमणका क्रममा स्याङ्जामा आएका पर्यटकले नछुटाउने गन्तव्यका रूपमा छायाँक्षेत्र स्थापित बन्दै गएको पुजारी मेघनारायण रेग्मीले जानकारी दिनुभयो । ठूलो पहाडकोबीच भागबाट कडा चट्टानलाई छिचोल्दै छङ्छङ् झरिरहेको झरना यहाँको विशिष्टता हो । छङ्छङ् आवाज आइरहने भएकाले यसै झरनाका कारण यस ठाउँको नाम नै छाङ्छाङ्दी रहन गएको स्थानीयवासी बताउँछन् । स्याङ्जाको भिरकोट नगरपालिका–४ मा पर्ने यो स्थल ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको छ । राजमार्गसँग जोडिएका कारण पोखरा–बुटवल को यात्रा गर्ने कतिपय यात्रु सवारीसाधन रोकेर यस तीर्थस्थलको दर्शन गर्ने गर्दछन् । प्रवेशद्वार वरपर चिया तथा खाजा खाने होटेल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा आएकाले पछिल्ला समयमा यो स्थान राजमार्गको बिसौनी जस्तो पनि बनेको छ ।