गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउन हुन तथा सोको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सो निर्देशन जारी गरेको जनाएको छ । उक्त निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।