स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी–११ माथि सहज जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो । कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो । कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक÷एक गोल गर्नुभयो । खेलको २३औँ मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएकामा ३०औँ मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । खेलको ९०औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेन्योले खेल जितेको हो । ‘शान्तिका लागि फुटबल’भन्ने मूल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिसल टोली मैत्रीपूर्ण खेलका लागि पोखरा आएको हो । स्पेनको टोलीमा केही विश्वकप खेलिसकेका खेलाडीसमेत आबद्ध थिए । खेलपछि स्पेनका प्रशिक्षक जुलिओ कोबोसले नेपाल आएर खेल्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नेपाली टोलीको तीव्र गतिमा खेल्ने शैली आफूहरूलाई मन परेको उल्लेख गर्नुभयो ।