सामुदायिक विद्यालयमा पाठयक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरुपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । कक्षा कोठामा शिक्षकले आधार परीक्षा लिएर विद्यार्थीको स्तर पत्ता लगाई कमजोर, मध्यम र उत्तम गरी तीन समूहमा विभाजन गरेर कक्षा सञ्चालन गर्ने गरिएको अधिकृत पाण्डे बताउनुहुन्छ । कमजोर विद्यार्थीलाई बिहान ०९ देखि १० बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म सम्बन्धित विषय शिक्षकले विद्यार्थीको आवश्यकताअनुसार शिक्षण गर्न विगत एक महिनादेखि सुरु गरिएको छ । आधार परीक्षामा राम्रा देखिएका विद्यार्थीलाई उनीहरुको सिकाइस्तर घटन नदिने गरी कक्षा कोठामानै शिक्षण गरिएको पाण्डेले बताउनुभयो । वार्षीक परीक्षामा विद्यार्थीको राम्रो नतिजा ल्याउने उद्देश्यका साथ तत्कालका लागि दुई महिना कक्षा सञ्चालन गरिएको र यसको प्रभावकारीता हेरेर आगामी शैक्षिक सत्रसमेतमा सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।