‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही। ’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उहाँको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हँुदै लाग्नुभएको छ । निर्मल पशुपक्षी कृषि फार्म दर्ता गरी रामपुर नगरपालिका–५ स्थित राङभाङमा एक वर्षअघिदेखि व्यावसायिक तवरबाट उहाँले बाख्रापालन गरिरहनुभएको छ । विभिन्न क्षेत्रको अनुभव बटुल्नुभएका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगाल्नुभएको छ । उहाँको फार्ममा हाल ५९ बाख्रामध्ये २७ माउ र अन्य साना पाठापाठी छन् । एक वर्ष पूरा नहुँदै बाख्रापालनबाट मनग्य कमाइ हुन थालेपछि व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजाने भण्डारी बताउनुहुन्छ । “बाख्रापालनबाट राम्रै कमाइ गर्न सकिने रहेछ, नौ महिनामै नौवटा पाठा बिक्री गरी रु दुई लाख ५० हजार कमाउन सफल भएको छु”, उहाँले भन्नुभयो, “परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, बाहिरको तनाव छैन, यसमै खुसी छु ।” भण्डारीको दुईवटा माउ बाख्राबाट सुरु भएको व्यवसाय अहिले यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिन पुगेको छ । स्थानीय वयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन् । बीउ उत्पादनका लागि बोयर जातका दुईवटा बोका पाल्नुभएको छ । चार किलो दुई सय ग्रामसम्मको पाठापाठी जन्मिने गरेको भण्डारीले बताउनुभयो ।