नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए । प्रदर्शनी केन्द्रमा ठेलमठेल दर्शकबीच गुरुङले झण्डै तीन घण्टा गायकीको जादु चलाए । ‘मानवता लागि साङ्गीतिक यात्रा’मा निस्केको नेपथ्य टोलीले मानवसेवा आश्रमका लागि आफ्नो ‘लाइभ कन्सर्ट’ समर्पित गरेको थियो । सधैँझैँ जिन्सको पहिरनमा उस्तै उर्जा, शैली र हाउभाउमा प्रस्तुत भएका गायक गुरुङले अन्तिमसम्मै दर्शकलाई कन्सर्टमा रोक्न सफल भए । उनले गीत आफैँमात्र गाएनन्, दर्शकलाई पनि गला मिलाउन बाध्य तुल्याए । ताली र वाहीवाहीसँगै दर्शकले नाचेर पनि साथ दिए । मानवसेवा आश्रमको भवन निर्माण सहयोर्ग नेपथ्यलाई जोड्न पाएकामा गायक गुरुङले आफूहरूलाई धन्य ठाने । ‘सहयोगापेक्षी सडक मानवमुक्त नेपाल’ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न उनले अनुनय गरे । “यस्तो सुन्दर ठाउँमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भनेका गुरुङले हरेकले एकपटक देश दर्शनमा जानुपर्ने उल्लेख गरे । गीतको खोज र सङ्कलनकै क्रममा धवलागिरि क्षेत्रमा हिमाल–पहाड चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे । ‘तकसेरा झरौँला, डम्चनमा बसौँला ढोरपाटनमा घरजम गरौँला शिरफूल शिरैमा, वनफूल वनैमा हिउँको फूल धौलाश्रीमा…’