मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भत्तजन भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था मिलाएको छ । पूर्वी नाका काँकरभिट्टादेखि १२ मिटर पश्चिम चारआलीमा रहेका मन्दिरमा नेपालका विभिन्न स्थानसँगै भारतका सिक्किम, दार्जीलिङ, आसाम, सिलगुढीलगायतका क्षेत्रबाट समेत दर्शनका लागि भक्तजनहरु आउने गरेको धार्मिक एवम् पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताउनुभयो । ताप्लेजुङमा रहेको ठूली पाथीभरा माताको दर्शन गर्नु अघि भक्तजनले यहाँ रहेको पाउँ पाथीभरामा दर्शन गर्ने चलन रहेको छ । देवीदेवताका विभिन्न आकृतिले भरिपूर्ण दुर्लभ बृक्षको फेदमा देवीको मन्दिर रहेको छ । देवीको दर्शनका लागि विभिन्न समयमा १००८ श्री जगत गुरु बालसन्त मोहनशरण, देवाचार्य श्री १००८ महामण्डलेश्वर हेमान्नद गिरीजी महाराज, व्यासाचार्य धर्मगुरू श्री किशोर गौतम, समालोचक मोदनाथ प्रश्रितलगायत आइसक्नुभएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेलले यसको संरक्षण, सम्बद्र्धन र विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । एक बर्षको अवधिमा रु. एक करोडभन्दा बढी आर्थिक कारोवार भएको धाम समितिले जनाएको छ ।