कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छ । अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि रुख छपानको काम सुरु भएको नगरप्रमुख भोजराज बोहराले बताउनुभयो । “प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका लागि २५ हजार रुख छपानको काम सुरु भएको छ ।” उहाँले भन्नुभयो,“रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले रु एक अर्ब बजेट विनियोजन गरिसकेको छ ।” औद्योगिक क्षेत्रको दुई वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । रुख छपानको काम सुरु भए पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । “वन कार्यालयबाट रुख छपानको काम सुरु भएको छ । जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रियामै छ ।” लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले भन्नुभयो,“बजेट अपुग र ईआईलगायतको कामले निमार्णमा ढिलाइ भएको हो ।” उहाँले झन्झटिलो प्रक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औद्योगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताउनुभयो ।