‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रका सडकमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रेका आगि अहिले दुई सडकमा धमाधम पूर्वाधारको काम भइरहेको छ । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरदेखि बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक र बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम भइरहेको छ । क्षेत्र नम्बर २ अन्तर्गतको गलकोट नगरपालिका–५ हरिचौरदेखि बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेका लागि आवश्यक स्तरोन्नतिको काम अहिले धमाधम भइरहेको गलकोट नगरपालिका–७ का वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो । सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रुपमा रहने बताउँदै थापाको कामले तीव्रता पाउन थालेको बताउनुभयो । यस्तै बागलुङ नगरपालिका–३ बोक्सेदेखि सिगाना हुँदै बौडेचौर पुग्ने सडक कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार हरिचौरदेखि प्यूठान जोड्ने सडक रु ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । उक्त बजेटबाट आवश्यक पूर्वाधारसहित आठ किमि सडक कालोपत्र गरिने निर्माण कम्पनी लोपूर्ण कन्सट्रक्सन प्रालिका प्रबन्धक अमिन लामाले बताउनुभयो । सुरुको चरणमा मल्म र हरिचौरदेखि गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।