मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशे गाउँका विभिन्न टोलका साथै त्यहाँस्थित मठमन्दिर क्षेत्रमा प्रदर्शन गरिएको छ । स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा ३३ वर्ष स्रोत अभावमा बन्द रहेको थियो । यस वर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको वडा नं ४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा–साङ्ला–चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको थियो । गोकर्ण देशे गाउँको बस्ती नेपालका ऐतिहासिक राजा मानदेवले बसालेको विश्वास गरिन्छ । पैदल आउने क्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम रहेको जनाइएको छ । नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउन दिने गरेको छ । पशुपति क्षेत्रमा नाच देखाउन पनि यो मार्गबाट आउने गरेको जनाइएको छ ।