सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि यहाँका किसानको गुनासो बढ्दै गएको थियो । कम्पनीका प्रमुख रबनकुमार यादव भन्नुहुन्छ, “धान खरिदका लागि केन्द्रीय कार्यालयबाट परिपत्र आउन ढिलाइ भयो, विगतमा मङ्सिर पहिलो वा दोस्रो सातासम्म खरिद प्रक्रिया भइसक्थ्यो ।” यादवका अनुसार यस वर्षका लागि मध्यम धान सोना मन्सुलीको खरिददर रु तीन हजार एक सय २८ प्रतिक्विन्टल र कतर्नी धानको रु तीन हजार आठ सय प्रतिक्विन्टल निर्धारण गरिएको छ । केन्द्रले तोकेको कोटाअनुसार यस कार्यालयले १५ हजार क्विन्टल किसानको धान खरिद गर्ने उहाँले बताउनुभयो । यहाँ सिरहा, सप्तरी र उदयपुर गरी तीन जिल्लाका किसानले धान बिक्रीका लागि ल्याउने गर्दछन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गर्ने धानको परिमाण एकदमै न्यून रहेको यहाँका किसानको गुनासो छ । खाद्य कम्पनीले सीमित परिमाणमा मात्र धान खरिद गर्ने भएको हँुदा यहाँका किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन् ।