काभ्रेपलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो । गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखिएको थियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताउनुभयो । उहाँका अनुसार हाल उक्त नगरमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएको छ । मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताउनुभयो । उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका छन् ।