सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना एकाएक उथलपुथल भएको हो । कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छन् । सङ्घीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता पाए कर्णालीमा पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने निश्चित थियो । केन्द्रमा फेरिएको समीकरणले भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई प्रतिपक्षमा पु¥याउने देखिएको छ भने माओवादी केन्द्र र नेकपा (एमाले)को सरकार बन्ने भएको छ । यससँगै मुख्यमन्त्रीमा माओवादी र एमाले दुवै दलले दाबी गरेका छन् । कर्णाली प्रदेशसभामा जम्मा ४० सदस्य सङ्ख्या रहेको छ । सरकार गठनका लागि २१ सदस्यको समर्थन आवश्यक पर्दछ । जुन माओवादी केन्द्र र एमाले मिलेमा पर्याप्त छ । प्रदेशसभाको दोस्रो दलका रुपमा रहेको माओवादीका १३ र एमालेका १० सदस्य छन् । यी दुई दलको सङ्ख्या जोड्दा २३ हुन्छ । प्रदेशसभामा १४ सदस्यसहित कांग्रेस पहिलो दलका रुपमा छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी र स्वतन्त्रबाट एक एक जना सदस्य छन् । कर्णाली प्रदेशमा माओवादी र एमालेको सरकार बन्ने भएपछि सरकारको नेतृत्व गर्ने सन्दर्भमा दुवै दलले आ–आफ्नो दाबी गरेका छन् ।