चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ । त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिनुभयो । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् । यस आर्थिक वर्षमा हात्तीले दुई र गैँडाले एक जनालाई आक्रमण गरी ज्यान लिएका छन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् । कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ । खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ । तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताउनुभयो । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ । बाघको सङ्ख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन् ।