झापाको कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल किसान पानी राख्ने भाँडो लिएर सोझै कार्यालय परिसर प्रवेश गरे । आफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले कृषि प्राविधिक प्रेम पोखरेललाई अभिवादन गर्दै सोधे, ‘मल पाइन्छ कि पाइँदैन ?’ किसानको जिज्ञासा सुनेपछि प्राविधिक पोखरेलले पनि सहजै जवाफ दिनुभयो, “किन नपाउनु ? जत्ति पाइन्छ ।” किसानको प्रतिनिधित्व गर्दै कमल ३ केरखाकी गीता ढकालले सोध्नुभयो, “कति सम्म लान पाइन्छ ? किसानले मलको मूल्य सोधे कसरी पर्छ नि ?” पोखरेलले जवाफ फर्काउनुभयो, “पैसा पर्दैन, निःशुल्क पाइन्छ ।” किसान खुसीले गदगद भए । हिउँदे खेती लगाउने चटारोमा रहेका किसान मल लिन गाउँपालिका आउँदा हातमा भने प्लास्टिकका ड्रम, ग्यालेन, जग लिएका देखिन्थे । किसानले मल भन्ने वित्तिकै सबै ठाउँमा यतिबेला डिएपी, युरिया जस्ता रासायनिक मल खोजेको अनुमान गर्न सकिन्छ तर कमलमा आएको किसानको यो समूह डिएपी, युरिया जस्ता रासायनिक मलको माग लिएर आएको थिएन । उनीहरु आफनो बारीमा लगाउने रासायनिक मलको विकल्पमा गाउँपालिकाभित्रै बनेको जैविक मलको प्रयोग गरेर कृषि उत्पादन बढाउन चाहन्छन् । गाउँपालिकाले तयार गरेको यस्तो मल तरल (झोल ) प्रकृतिको छ । गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेट प्रवेश गर्ने वित्तिकै १५, २० थान प्लास्टिकका ठूला ड्रम हमेसा यहाँ उत्पादित कमल झोल मलले भरिएका हुन्छन् । यो सखर र ‘वेस्ट डी कम्पोजर’ को समिश्रणबाट तयार गरिएको झोल मलको ब्राण्डिङसमेत भइसकेको छ । यहाँ झोल मल मात्रै उपलब्ध छैन कमल युरिया, कमल प्राङ्गारिक, कमल जिबामृतलगायत सात प्रकारका मल बनाउने गरिएको छ ।